दैलेख - दैलेखको भैरवी गाउँपालिका–५ कालगौणास्थित माईको थान जाने बाटोमा सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
दिउँसो करिब १ बजेतिर भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई दुर्घटना परेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायका अनुसार दुर्घटनामा परी कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, सोही गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय मित्र सुनार र वडा नं. ६ की ६० वर्षीया पुल्तिसरा विकको ज्यान गएको हो । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई भैरवी गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको स्थानीयले बताएका छन्।

