Harsamaya
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, तत्काल स्पष्टीकरण दिन माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ।

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको घोर भर्त्सना गरेको छ।

कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीतको भनाइको संज्ञा दिइएको छ।

कांग्रेसले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले कुनै ऐतिहासिक तथ्य र प्रमाणबिना संसद्को रोष्ट्रमबाट टिप्पणी गरेको आरोप लगाएको छ। विज्ञप्तिमा यस्तो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याएको मात्र नभई नेपालको कूटनीतिक विश्वसनीयतालाई समेत कमजोर बनाएको दाबी गरिएको छ।

कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूभागमाथिको अतिक्रमणको विषयलाई सीमा क्षेत्रमा देखिने सामान्य प्राविधिक समस्यासँग तुलना गर्नु गलत भएको जनाएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालले अन्तर्राष्ट्रिय रूपमा उठाउँदै आएको सीमा दाबीलाई कमजोर बनाउने जोखिम रहेको कांग्रेसको भनाइ छ।

विज्ञप्तिमा प्रधानमन्त्रीले सीमा समस्याका विषयमा बेलायतसँग पनि कुरा भइरहेको उल्लेख गरेको प्रसंगलाई समेत कांग्रेसले प्रश्न उठाएको छ। स्थापित कूटनीतिक संयन्त्र र द्विपक्षीय संवाद प्रक्रियालाई बेवास्ता गर्दै यस्तो अभिव्यक्ति दिनुको आधार स्पष्ट पार्न कांग्रेसले माग गरेको छ।

कांग्रेसले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्ने विषयमा स्पष्टता दिन आग्रह गरेको छ। साथै प्रधानमन्त्री शाह र सरकारले संसद् तथा आम जनतासमक्ष तत्काल स्पष्टीकरण दिनुपर्ने माग पनि गरेको छ।

विज्ञप्तिमा कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि तथा प्रमाणका आधारमा नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षा गर्दै सीमा समस्यालाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रहितविरोधी’ र ‘कूटनीतिक मर्यादाविपरीत’ भन्दै कांग्रेसले त्यसप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update