काठमाडौं - प्रतिनिधिसभाको आइतबार रातिको बैठकमा विपक्षी सांसदहरूको अवरोध र नाराबाजीबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन्।
मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रतिवेदन स्वीकृतिका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहेका बेला विपक्षी दलका सांसदहरू रोष्ट्रमतर्फ उत्रिएर विरोध जनाएका थिए। बैठक कक्षमा चर्को होहल्ला र अवरोध भइरहेका बेला सभामुख अर्यालले प्रतिवेदन पारित भएको घोषणा गरेका हुन्।
बैठकका क्रममा प्रतिपक्षी सांसदहरू रोष्ट्रम घेराउ गर्न पुगेका थिए। यही क्रममा नेकपा (एमाले) का सांसद ऐन महर रोष्ट्रमतर्फ अघि बढ्ने प्रयास गर्दा मर्यादापालकहरूले उनलाई रोकेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उनी अन्य सांसदहरूबीचबाट अघि बढ्दै रोष्ट्रमतर्फ जान खोजेका थिए।
प्रतिवेदन पारित भएको घोषणा गरेलगत्तै सभामुख अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
संसदमा पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक विषयलाई लिएर सत्ता र प्रतिपक्षबीच तीव्र विवाद चलिरहेका बेला नियमावलीसम्बन्धी प्रतिवेदन पारित गर्ने क्रममा पनि तनावपूर्ण अवस्था देखिएको हो। विपक्षी दलहरूले प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेका थिए भने सभामुखले संसदीय प्रक्रिया अगाडि बढाएका थिए।

