Harsamaya
प्रतिनिधिसभा बैठक अवरुद्ध 
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । 

मंगलबार बसेको बैठकमा आकस्मिक, शुन्य र विशेष समय सकिएपछि सभामुख डोल प्रसाद अर्यालले कार्यसूचीमा रहेका बिषयलाई अगाडी बढाउन लाग्दा बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए । कांग्रेस प्रमुख सचेतक थापाले सरकारले दुई तिहाइको दम्भ देखाएको बताए । उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास नभएको उल्लेख गरे । 

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भन्दै प्रधानमन्त्री नआए संसदको अवरोध नहट्ने बताए । 

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए । उनले संख्याको दम्भ नराख्न सरकारलाई सुझाव समेत दिए । 

त्यस्तै अन्य बिपक्षी दलका सांसदहरुले पनि प्रधानमन्त्रीको उपस्थितिको लागि रुलिङको माग गरेका थिए । विरोधपछि बैठकमा सभामुख अर्यालले बिपक्षी दलले राखेका माग जायज भएको भन्दै आफु पनि निरन्तर छलफलमा रहेको बताए । उनले छिटै प्रधानमन्त्रीको उपस्थिति सदनमा हुने भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । 

बिपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले विरोधकाबीच कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाएको थियो भने बिपक्षी दलका सांसदहरुले उठेर नारावाजी गरेका थिए । पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल जारी रहदा समेत विरोध जारी रहेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update