Harsamaya
वैशाखमा दुई हजार २९४ दुर्घटना, २३९ जनाको मृत्यु 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ ।

नेपाल प्रहरीको तथ्याङ्‍क अनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना भएकामा एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएको थियो ।

सो अवधिमा १३७ दुर्घटना चालकको असक्षमता, १३३ दुर्घटना हतारमा बाटो काट्नु, ११२ दुर्घटना मादक पदार्थ सेवा तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए ।

दुर्घटनामा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी २३९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्‍क छ । ती दुर्घटनामा परी ७५२ जना गम्भीर तथा तीन हजार २२० जना सामान्य घाइते भएका छन् ।

वैशाख महिनामा ट्राफिक नियम उल्लङ्‍घन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने सोबापत ११ करोड ८२ लाख ७४ हजार १८९ राजस्व असुली भएको छ ।

सो अवधिमा भएका ती दुर्घटनामा तीन हजार ३३४ वटा सवारी साधन संलग्न भएका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए ।

साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । सो समयमा ८५९ दुर्घटना भएका थिए ।

यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरीतथ्याङ्‍कले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update