Harsamaya
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

गण्डकी - पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । 

समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो । 

तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने शनिबार जारी सूचनामा उल्लेख छ ।

समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरुलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्ति/भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ । 

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिकाले पनि सार्वजनिक रुपमा सूचित गरेको थियो ।

३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले अर्को सूचना जारी गरेको हो ।  

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरु रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन विसं २०३१/३२ तिर २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । 

बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउने महानगरको योजना छ । 

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ ।

वास्तविक सुकुमवासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने भएको हो । 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update