काठमाडौं - विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
बिहीबार बसेको बैठकमा बिपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने मागसहित उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरुले सांसदहरुले उठाएका विषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।
बैठकमा विशेष समय सकिएपछि विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई समय दिएका थिए । सांसद महरले प्रधानमन्त्रीले संसदलाई छल्ने काम गरेको भन्दै आपत्ति जनाए । उनले संसदको नियमावलीलाई बेवास्ता गर्न नमिल्ने भन्दै संसदमा उपस्थित हुन रुलिङको माग गरे ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सासद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएकाले तत्काल रुलिङको माग गरे । उनले प्रधानमन्त्रीले सदनलाई बेवास्ता गर्नु संविधान र सार्वभौम जनताप्रतिको अपमान भएको उल्लेख गरे ।
त्यस्तै राप्रपा सांसद खुस्बु ओलीले सदनमा सांसदहरुको प्रश्नको जवाफका लागि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गरिन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी कोही पनि चल्न नसक्ने भन्दै तत्काल प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङको माग गरे । विपक्षीको अवरोधपछि सभामुख अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए ।
तर विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थीतिका लागि रुलिङ हुनुपर्ने अडान कायमै राखेका थिए । विपक्षी सांसदले निरन्तर अवरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे ।

