एजेन्सी - मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको छ । मारिएका तीन व्यक्तिमध्ये एक रूसमा कार्यरत एक भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको रूसका लागि भारतीय दूतावासले आइतबार जानकारी दिएको छ।
मस्को क्षेत्रमा ड्रोन आक्रमणमा परी एक भारतीय कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दूतावासका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेका छन् र अस्पतालमा घाइते कामदारहरूलाई भेटेका छन्।
युक्रेनले शनिबार राति रुसको राजधानी मस्को लगायतका क्षेत्रमा करिब ६०० युक्रेनी ड्रोनद्वारा आक्रमण गरेको थियो । आक्रमणमा मस्को क्षेत्रमा तीन र बेलगोरोड क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको थियो । युक्रेन युद्धको अवधिमा नै राजधानीमा भएको यो सबैभन्दा ठूलो आक्रमण थियो।
युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले यसको बदला लिने प्रतिबद्धता जनाएको थियो।
सन् २०२२ मा रुसको पूर्ण आक्रमणबाट उत्प्रेरित युक्रेन द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध भएको छ।

