Harsamaya
सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छु : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापा ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानीको आधारमा निर्णय गर्न नहुने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे ।

उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टी एउटा राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी हो की होइन भन्ने कुरा चुनावको नतिजाले मापन हुने कानुनी व्यवस्था छ । तर मेरो लागि नेपाली कांग्रेस पार्टी निर्वाचन जित्दा, हार्दा र नलड्दा पनि राष्ट्रिय शक्ति नै हो । राष्ट्रिय शक्ति भएकोले यसले हेडलाइनमा के निस्क्यो भनेर त्यसलाई पछ्याउँदै हिड्ने होइन । क्षणिक लाभ र हानीको कुराबाट प्रभावित भएर आफ्ना निर्णयहरु पनि गर्ने होइन र सटकटहरु खोज्ने पनि होइन । राष्ट्रिय राजनीतिमा उठेका कुराहरुमा प्रतिक्रिया व्यक्त गर्ने होइन डिरेक्शन दिने हो, त्यो सामथ्र्य राख्नुपर्छ ।’

थापाले निर्वाचित सरकारसँग शक्ति हुने भए पनि संविधानले त्यसको सीमा निर्धारण गरेको उल्लेख गरे । उनले सरकारलाई कानुन बनाउने अधिकार भए पनि के विषयमा र कुन उद्देश्यका लागि कानुन बनाउने भन्ने कुरा संविधानले परिभाषित गरिसकेको बताए ।

उनले भने, ‘चुनावबाट जितेर आएको सरकासँग शक्ति हुन्छ तर त्यो शक्तिको पनि सीमा हुन्छ । संविधानले सीमाहरु कोरिदिएको हुन्छ । कानुन बनाउन पाउने उसको अधिकार हुन्छ तर कानुन पनि के मा बनाउने र के का लागि बनाउने भन्ने कुरा पनि परिभाषित भएको हुन्छ ।’

साथै उनले कांग्रेसलाई समाजमुखी बनाउँदै पार्टीलाई संगठनभित्र मात्र सीमित नराख्ने बताए । उनले पार्टीलाई समाजको सेवामा केन्द्रित गर्न चाहेको बताए । उनले पार्टीभित्रका आन्तरिक विषयहरू पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसमा समेत काम गरिने स्पष्ट पारे ।

थापाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो समूह अहिले पार्टीको सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने धारणा राखे ।

थापाले वरिष्ठ नेता बनाउनुपर्ने व्यक्तिलाई वरिष्ठ नेता तथा आवश्यक स्थानमा उपयुक्त जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए ।

उनले भने, ‘म पार्टीलाई समाजमा लिएर जान चाहन्छु । समाजको सेवामा लिन चाहन्छु । पार्टीलाई पार्टी कार्यालय भित्र वा संगठनभित्र मात्र केन्द्रित गर्न चाहन्न । पार्टीभित्रका आन्तरिक कुराहरु पनि कम महत्वका छन् भन्न खोजेको होइन । ती महत्वका छन्, त्यसमा काम गर्ने छौं । पार्टीको केन्द्रिय समितिको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको थुप्रै ठूलो पंक्ति बाहिर छ । जति नेताहरु हुनुहुन्न उहाँहरु चाहनु हुन्छ भने ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जुन ठाउँमा राख्नुपर्ने हो सँगै लिएर काम गर्न चाहन्छु म, मेरो प्रस्ताव हो ।’

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update