Harsamaya
विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
फाइल तस्बीरः हर समय/harsamaya

काठमाडौं- देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विविभन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो ।

प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गएराति करिब रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

यस्तै, ललितपुरको ललितपुर महानगपालिका–१४ ताल्चीखेलस्थित पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको न्यू खुकुरी रेष्टुरेन्टमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु चार लाख ५० हजार बराबरको धनमाल जलेको छ । 

यसैगरी कास्कीका पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा आगलागी भएको छ । सोही महानगरपालिका–३३ बागमारा बस्ने मुक्ति पनेरूले सञ्चालन गरेको उक्त पसलमा गएराति आगलागी हुँदा करिब रु दुई लाख बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ । 

यस्तै, आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ महाकाली टोल बस्ने बन्दा रानाको घरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैगरी, सुनसरीको बर्जु गाउँपालिका–६ रामटोल बस्ने मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा शुक्रबार करिब रु दुई लाख  बराबर क्षति भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरूवा बस्ने कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावट भई आगालागी हुँदा करिब रु तीन लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सोही उपमहानगरपालिका–२ बस्ने ४२ वर्षीय अबनिश सिंहले सञ्चालन गरेको जय श्री लटिनाथ ट्रेडर्समा गएराति विद्युत चुहावट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update