Harsamaya
वैशाख ३१: पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन देखि विपक्षी दलहरुले सदन बहिस्कार गरेको सम्म
ग्राफिक्सः हर समय/harsamaya

बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

पूर्व गृहमन्त्री गुरुङको विषयमा छानबिन गर्न समिति गठन: सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।  मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।

कांग्रेस बाहेक अन्य विपक्षी दलले गरे सदन बहिस्कार: अवरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी तीन दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले‚ नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक छाडेर हिँडेका हुन् । नेपाली कांग्रेसले उभिएर विरोध गरिरहेको छ । नीति कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नआएपछि विपक्षीले विरोध गरेका हुन् ।

सरकारले बजेटबारे प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता: सरकारले आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले सुशासनको लाभांस, अर्थतन्त्रको पुनर्संरचना, सर्वाव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणलाई आगामी बजेटका पाँच सिद्धान्त भनेका छन् । 

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु सुरु हुने भएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ः०० बजेदेखि विराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्याङ्क नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने, ‘कोशी प्रदेश योजना आयोग गठन सञ्चालन आदेश, २०८३’ लाई कानुन न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह मर्यादा र परम्परा विपरीत गएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा छलफल भइरहेका बेला प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको छलफलमा ध्यान नदिएको गुनासो गरे । साम्पाङका अनुसार प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा छलफल नसुनेको तर पछि वा लाइभमार्फत सुन्ने अवस्था संसदको परम्परा र मर्यादाविपरीत हो ।

ठगी गर्ने तीन जना पक्राउ: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update