सुर्खेत - अवैध ढंगले भेरी नदीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने १७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भेरी नदीमा अवैध रुपमा बालुवा संकलन गरिरहेका र १२ टिपर, दुई ट्याक्टर, दुई जेसीभी र १ एक स्काभेटरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिए ।
सुर्खेतको भेरीगंगा र लेकबेँसी नगरपालिकाका विभिन्न स्थानमा अवैध नदीजन्य सामाग्री उत्खनन् गरिरहेका सवारी साधनहरुलाई नगरपालिकाको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । भेरीगंगा नगरपालिका– १३, को सालटाकुरा र लेकबेँसी नगरपालिका– ७ को पटारे क्षेत्रमा अत्यधिक अवैध जनीजन्य सामग्री उत्खनन् भईरहेको प्रहरीले जनाएको छ ।
मापदण्ड विपरित नदी उत्खनन् गर्नेहरुको सवारी साधन नियन्त्रणमा लिएको प्रहरी प्रमूख शाहीले बताए । ‘कानूनी प्रक्रिया मिचेर अवैध रुपमा नदीजन्य सामग्री संकलन गरिरहेकाहरुको सवारी साधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘नियन्त्रणमा लिएका सवारी साधनहरुलाई कारवाही गर्न सम्बन्धित पालिकामै पठाईने छ ।’

