काठमाडौं - बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस मनाउने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले यही बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउन लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीले भाषा संस्कृति कला सम्पदाको प्रवद्र्धन तथा जर्गेना गर्ने उद्देश्यसहित भाषा दिवस मनाउन लागिएको जानकारी दिए । भाषा ऐन कार्यान्वयन तथा भाषा दिवस सञ्चालन गर्न २८ लाख विनियोजन गरिएको उनले जानकारी दिए ।
उनले भने,‘भाषा संस्कृति कला सम्पदाको प्रवद्र्धन तथा जर्गेना गर्ने उद्देश्यसहित यो दिवस मनाउँदैछौं । भाषा ऐन कार्यान्वयन तथा भाषा दिवस सञ्चालन गर्न २८ लाख विनियोजन गरिएको छ ।’
उनले जम्मा भाषा कार्यान्वयनकै लागि भनेर कूल बजेटको २ करोड ४७ लाख ३० हजार बजेट व्यवस्थापन गरिएको जानकारी दिए ।
त्यस्तै मन्त्री सुरेन्द्र श्रेष्ठले बागमती प्रदेश सरकारले भाषा प्रवद्र्धन र संस्कृति जोगाउनको लागि आफ्नो मन्त्रालयको बलले भ्याएसम्म लागि परेको बताए । राज्यले करोडौं लगानी भाषा प्रवद्र्धनमा भैइरहेको बताउँदै उनले उपलब्धि भने सोचे अनुरुपको नआएको धारणा राखे।
उनले भने,‘बागमती प्रदेश सरकारले भाषा प्रवद्र्धन र संस्कृति जोगाउनको लागि आफ्नो मन्त्रालयको बलले भ्याएसम्म लागिरहेका छौं । हामीले यसलाई औपचारिकतामा मात्र राखेको छौं कि साच्चीकै यसमा उपलब्धि पनि हासिल गरेको छौं । राज्यले करोडौं लगानी गरिरहने नेवारले नेवारी भाषा बोल्न नजान्ने तामाङले तामाङको केही पनि नजान्ने हो भने राज्यको पैसा पनि बालुवामा पानी हाले सरह हुन्छ ।’
त्यस्तै उनले विभिन्न बुलेटिनको लागि राज्यले लगानी गरिरहेको बताउँदै त्यो अनुरुपको उपलब्धि भएको छ त ? भन्दै प्रश्न गरे ।

