Harsamaya
 रोल्पामा जिप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो
दुर्घटनामा परेकाको उद्धार गर्दै सुरक्षाकर्मी ।

काठमाडौं - रोल्पामा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका सबैको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन् ।

त्यस्तै, दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने—५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने—५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका—५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् ।

दुर्घटनास्थल अत्यन्तै अप्ठेरो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव निकाल्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिका–१ सल्यापतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप करिब ८०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो। जिपमा चालकसहित २१ जना सवार रहेकामा २० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जना मात्र जीवित रहेका छन्। सिस्ने–५ का समीर कामीले जिप दुर्घटना हुनुअघि छतबाट हामफालेर रूख समात्दै ज्यान जोगाएका हुन्। उनलाई सामान्य उपचारपछि घर पठाइएको छ।

प्रहरीका अनुसार कच्ची तथा चिप्लो सडक, लगातार वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। 

यसैबीच, घटनाको छानबिन गर्न गृह मन्त्रालयले प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update