विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले जानकारी दिए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला: सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ । कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो ।
कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन: नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए । उनले भने, ‘सबैको प्रतिक्षाको विषय नेपाली कांग्रेस संसदीय दलको नेताका सन्दर्भमा धेरै चासो, धेरै प्रश्नहरु उठेकाले स्पष्टता गर्न जरुरी थियो । विशेष गरेर नेपाली कांग्रेसको अहिलेको संसदीय संरचनामा उपस्थितीमा दलको जुन विधान थियो त्यो विधानलाई समयसापेक्ष केही परिवर्तन गर्नुपर्ने आवश्यकता भएको हुनाले केही दिन ढिलाई हुन गएको हो । लोकतान्त्रिक पार्टीको चुनावमा सर्वसम्मति गर्नु पनि एउटा निर्वाचनकै एउटा अंग हो। यसअन्तरगत पार्टीले ३८ जना सबै योग्य साथिहरुमध्येबाट कसलाई संसदीय दलको नेता बनाउने भन्ने सन्दर्भमा पार्टीको केन्द्रको तर्फबाट सर्वसम्मतको प्रयास बमोजिम पार्टीले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेका छौं ।’
निजामती सेवा विधेयकको मस्यौदाः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरिरहेको 'सङ्घीय निजामती सेवा विधेयक'को प्रारम्भिक मस्यौदामा सरोकारवालाहरूले चासो देखाएका छन् । मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएको छोटो अवधिमै हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषणहरू प्राप्त भएका छन् । संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकको मस्यौदा गत वैशाख ११ गते मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको थियो ।
अर्थको श्वेतपत्रः अर्थ मन्त्रालयले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अपेक्षित प्रगति हासिल गर्न नसकिएको जनाएको छ । सन् २०२२ सम्म निर्धारित लक्ष्यको केवल ४१.७ प्रतिशत मात्र प्रगति भएको र अहिलेकै गतिमा अगाडि बढ्दा सन् २०३० सम्म कुल लक्ष्यको ६०.५ प्रतिशत प्रगति हुने अर्थको प्रक्षेपण छ । विशेष गरी आर्थिक वृद्धि र रोजगारीसँग जोडिएका सूचकहरूमा निकै कमजोर उपलब्धि देखिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा जारी श्वेतपत्रमा उल्लेख छ । बाँकी अवधिमा यी लक्ष्य पूर्ण रूपमा भेट्टाउन वार्षिक औसत ७ खर्ब ५५ अर्ब रुपैयाँ अतिरिक्त लगानी गर्नुपर्ने टड्कारो आवश्यकता श्वेतपत्रमा औंल्याइएको छ ।
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश: सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त विषयमा दुवै पक्षको छलफलका लागि यही वैशाख २२ मा बोलाउने आदेश भएको छ ।
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग: शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आइतबार दिनभर डाइभर्सनको काम गरे पनि आइतबार अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पुर्याएपछि आइतबार साँझ आगावमन सञ्चालन गर्न नसकिएको कार्यालयका प्रमुख प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार आज बिहानदेखि पुनः डाइभर्सन बनाइ दिउँसो ३ बजेदेखि आवागमन नियमित गराइएको हो ।

