सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन(बजेट अधिवेशन) आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले आज वैशाख १७ गते अपराह्न ४ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुग्नुभएका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
बस्ती खाली गराउने कार्य निरन्तर: सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ । यसक्रममा आज काठमाडौं महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ–सिनामङ्गल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा अवैध रुपमा निर्माण गरिएका बस्ती खाली गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संघीय संसदको मर्यादा विपरीत रास्वपा सांसदहरू : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् । रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झपारिएको आरोप छ भने अर्कोतर्फ न्यायको माग गर्दै धर्नामा रहेका बेला प्रहरी प्रमुखलाई लक्षित गर्दै ‘घिसारेर लैजाने’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिइएको भिडियो सार्वजनिक भएपछि जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ ।
मौसममा बदलीः मौसम बदलीसँगै आज काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्न्द बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ । यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ ।
नेपालले निकाल्यो ३७ रनको सानदार जित: आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो । युएईका लागि हरप्रीत सिंहले ३९ रन जोडे भने कप्तान मोहम्मद वसीमले ३४ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए ।
बिपी राजमार्ग पूर्ण बन्द: वर्षाको कारण बिपी राजमार्ग पुनः बन्द भएको छ । जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ। प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुनः राजमार्ग सञ्चालनबारे अर्को सूचना जारी गरिने स्पष्ट पारेको छ। यात्रु तथा सवारी चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड: नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्तीय वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी एक वर्षको अवधिमा झण्डै १ अर्ब २० करोड रुपैयाँले बढेको छ । आम्दानीसँगै कम्पनीको सञ्चालन नाफाको दरमा पनि लोभलाग्दो सुधार देखिएको छ ।

