Harsamaya
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
सांकेतिक तस्विरः हर समय/harsamaya

दाङ - गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार एक जना महिलाको मृत्यु भयो । तुलसीपुर-हापुरे सडकखण्डमा पर्ने सो ठाउँमा रा १ ख २३०८ नम्बरको टिपरले रा ७ प ६३३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तुलसीपुर-९ निवासी ४९ वर्षीया पुष्पा कँडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

गत चैत ३ गते गढवा गाउँपालिका-५ बाँकीगाउँमा बाटोमा रोकिएको रा ६ प १७६९ नम्बरको मोटरसाइकल रा १ त ३४२९ नम्बरको ट्याक्टरसँग ठोक्किँदा सोही ठाउँका ४२ वर्षीय भानु रिजालको घटनास्थलमै मृत्यु भयो । यी दुई घटनामा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले दुर्घटनाको मुख्य कारण चालकले तीव्र गतिमा सवारी चलाउनु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताए।

दुर्घटनासम्बन्धी यी उदाहरण मात्र हुन् । जिल्लामा हुने सवारी दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाएक सयौँ उदाहरण छन् । यस्ता दुर्घटना दोहोरिन नदिन र दुर्घटना न्यूनीकरणका लागि प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरणमा सक्रियताका काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उनका अनुसार सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

यहाँका बजारमा ट्राफिक व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । सडक वारपार गर्ने पैदलयात्रुलाई सडक कट्दा अपनाउनुपर्ने विषयमा सचेतना उपलब्ध गराइँदै आइएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार चालकका लागि निःशुल्क स्वास्थ्थ्य परीक्षण तथा आखा जाँच कार्यक्रम सञ्चालन भइरहेका छन् । 

बजार क्षेत्रमा ‘जेब्राक्रसिङ’ बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

जिल्लामा चालु आर्थिक वर्षको साउनदेखि वैशाख पहिलो सातासम्म २७३ वटा सवारी दुर्घटना हुँदा ६० जनाको ज्यान गएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार ज्यान गुमाउनेमा ४१ पुरुष, १७ महिला र दुई जना बालक छन् ।

ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी १७१ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ३९९ सवारीसाधन संलग्न छन् । तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकल २२६, टेम्पो ४२, बस १४, जीप तथा कार ४२, ट्याक्टर १२ रहेका छन् ।

गत आव २०८१/८२ मा तीन सय ६२ सवारी दुर्घटना हुँदा ८१ जनाको मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । सो अवधिमा ३६२ सवारी दुर्घटनामा परी २५८ गम्भीर घाइते भएका थिए । आव २०७९/८० मा  २०३ सवारी दुर्घटना हुँदा ९५ मृत्यु भएको थियो भने आव २०७८/७९ मा २७९ वटा सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

प्रहरीको अनुसन्धानले दुर्घटनाको मुख्य कारण तीव्रगतिमा सवारी चलाउनु, मादकपदार्थ सेवन गरी सवारी चलाउनु, चालकको लापरबाही, सडककोे अवस्थाबारेमा चालक जानकार नहुने, यान्त्रिक गडबडीलगायत रहेका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बमले जानकारी दिए।

दुर्घटना न्यूनीकरणका लागि चालक गम्भीर बन्नुपर्ने ज्येष्ठ नागरिक खुमानन्द अधिकारीले जोड दिए। उनले जिल्लामा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै चालक संवेदनशील हुन आग्रह गरे । तीव्रगतिमा गाडी चलाउने, आफ्ना सवारीसाधन दुरुस्त अवस्था नराख्नेलगायत कारणले दुर्घटना बढिरहेको उनको भनाइ छ ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियता बढाए पनि नियन्त्रणमा आउन नसकेकामा चिन्ता व्यक्त गरे । सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी, नियामक निकाय एकजुट हुनुपर्ने उनले बताए। उनले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने अध्यक्ष सुवेदीले सुझाव दिए। उनले दुर्घटनामा पीडित भएका तथा सवारी चालकलाई सङ्गठित गराएर सरोकार भएका निकायले सचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान सञ्चालन गर्दा थप प्रभावकारी हुने उनको भनाइ छ ।

सडक दुर्घटना रोकथाम गर्नका लागि नियामनका निकायले पनि विशेष ध्यान दिनुपर्ने अध्यक्ष सुवेदीले बताए। घोराही–तुलसीपुर निर्माणाधीन सडकका ठाउँठाउँमा खनिएका खाडलमा परी हुने सवारी दुर्घटनाका कारण युवाको ज्यान जाने गरेकाले यसतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले तीव्रगतिमा सवारी चलाउने, मादकपदार्थ सेवन, बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, सवारीको यान्त्रिक अवस्था ठीक नराख्नेलगायत कारणले दुर्घटना बढिरहेको बताए। उनले सडक सुरक्षा तथा ट्राफिक नियमका सम्बन्धमा चालक तथा सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिए। 

उनका अनुसार नागरिक अगुवासँग अन्तरक्रिया, स्थानीय तहसँग सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभियान, आमसर्वसाधारणलाई ट्राफिक नियमका बारेमा जानकारीलगायत कार्यक्र सञ्चालन हुँदै आएका छन् । जिल्लाको घोराही-तुलसीपुर सडकखण्ड निर्माण भइरहेकाले सो सडकमा हुने दुर्घटना नियन्त्रण गर्नेतर्फ प्रहरीले चासो दिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update