रास्वपा सभापति रबि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गर्दै पेस गरिएको रिट निवेदन दरपिठ (रिट दर्ता गर्न अस्वीकार) गरेको हो । अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
गृहमन्त्रीबारे कुनै निर्णय भएन: सरकारले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाइएतापनि यसबारे केही निर्णय गरेको छैन । मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले ६ वटा निर्णयहरु सुनाएका थिए ।
घरेलु मैदानमा नेपाल ८ विकेटले विजयी: टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल विजयी भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको हो । जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
समस्याग्रस्त सहकारीको ऋण व्यवस्थापन समिति: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र आफ्नो हरहिसाब बुझाउन सूचना जारी गरेको छ । मंगलबार सूचना जारी गर्दै कार्यालयले सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने जनाइएको छ ।
दुई जनाविरुद्ध भ्रष्टचार मुद्दा दर्ता: पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठसमेत २ जनाविरुद्ध भ्रष्टाचारसहित सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा दुवै मुद्दा दर्ता गरेको हो । श्रेष्ठसँगै आयोगले पुरातत्व विभागका सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरू दुवै जनाविरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५ रूपैयाँ बिगो कायम गरिएको छ ।
सुनको मूल्य बढ्यो: नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबारसम्म ‘हिट वेभ’को संभावना: मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।त्यस्तै मधेश प्रदेशका सम्पूर्ण भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने सम्भावना रहेको छ।

