काठमाडौं - टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल विजयी भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको हो ।
जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दुई खेलको सिरिज बराबरी गरेको हो । नेपाल पहिलो खेलमा सोमबार डीएल मेथडमा ६ विकेटले पराजित भएको थियो ।
यूएईले दिएको लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल ८४ र कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे । कुशलले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे । उनले ३१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
दीपेन्द्र १७ बलमा ३ चौका सहयोगमा २३ रनमा अविजित रहे । त्यसअघि यूएईलाई ठूलो योगफल बनाउनबाट रोक्ने क्रममा नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए । मध्यमतेज गतिका बलर हेमन्त धामीले पनि दुई विकेट हात पारे । उनले आफ्नो खेलजीवनको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलेका हुन् ।
यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रनको योगदान गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान नाथले ४२ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काए । भ्रमणकारी टोलीका लागि ओपनर ब्याट्सम्यान अदिब उस्मानीले पनि ३० रन जोडे । आठौँ नम्बरमा क्रिज समाल्न आएका मुहम्मद अरफानले ३२ रन बनाए ।

