जुम्ला - जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै निर्णय लागू गरेको छ । गाउँपालिकाले आइतबार पनि सार्वजनिक बिदा दिने संघीय निर्णयलाई नमान्ने र वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने तथा वैशाख ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् ।
संघीय सरकारले आइतबार समेत सार्वजनिक बिदा दिने तथा नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि सञ्चालन गरी वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयले हिमाली जिल्लाहरूमा पठनपाठन प्रभावित हुने निष्कर्षसहित कनकासुन्दरी गाउँपालिकाले स्थानीय आवश्यकता अनुसार फरक निर्णय गरेको हो ।
गाउँपालिकाद्वारा जारी सूचनामा जुम्ला जिल्लाका सामुदायिक विद्यालयहरूमा पौष महिनामा १५ दिन र माघ महिनामा ३० दिन गरी कुल ४५ दिन बिदा हुने भएकाले निर्धारित पाठ्यघण्टा र पाठ्यक्रम पूरा गर्न कठिन हुने उल्लेख गरिएको छ । त्यसैले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई ध्यानमा राख्दै वैशाख ७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने र आइतबार पनि विद्यालय खुला राख्ने निर्णय गरिएको जनाइएको छ ।
जिल्लाका आठ स्थानीय तहहरूमध्ये संघीय निर्णयविपरीत यस्तो कदम चाल्ने कनकासुन्दरी पहिलो पालिका बनेको छ । गाउँपालिकाले यस निर्णयलाई स्थानीय सरकारको स्वायत्त अधिकारको प्रयोगका रूपमा प्रस्तुत गरेको छ ।

