रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुल बक्यौताका कारण नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि नगरपालिकासहित १६ सय परिवारको बिचल्ली भएको छ । प्राधिकरणको मौलापुर शाखाले महसुल नतिरेको भन्दै नगरपालिका कार्यालय र वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिदिएपछि पालिकाको प्रशासनिक सेवा र खानेपानी आपूर्ति पूर्ण रूपमा प्रभावित भएको हो । यो गर्मी र तातो हावा (लु) चलिरहेको समयमा खानेपानीको लाइन काटिएपछि कटहरिया–४ र ५ का स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कांग्रेस विवादः नेपाली कांग्रेसको वैधानिक विवाद निरुपण भएपनि राजनीति विवाद भने निकाशउन्मुख भएकै छैन । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले पार्टी सभापति गगन थापाले एकताको पहल नगरे दुई वटा महाधिवेशन हुने चेतावनी दिएको छ। आइतबार बसेको खड्का पक्षको भेलाले महाधिवेशनका लागि तोकिएका दुई वटा मितिलाई समायोजन गर्न सभापति गगन थापाको ध्यानाकर्षण गराएको हो । आइतबारको भेलाले यथाशीघ्र निवर्तमान पदाधिकारीको बैठक राख्ने र वृहत् राष्ट्रिय भेला गर्ने समेत निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
बीपी राजमार्ग एकतर्फी सञ्चालन: बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, बाटोको अवस्थाबारे थप जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । बीपी राजमार्ग अन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोला ले डाइभर्सनहरू बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
इलाम गोल्डकपः इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले फिदिम स्पोर्टिङविरुद्ध तेस्रो गोल गरे । फिदिम स्पोर्टिङ पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा ३-० गोलअन्तरले पराजित हुन पुग्यो । खेलको ‘म्यान अफ दी म्याच’ रोलिङ क्लबका प्रतापसिंह राई घोषित भए । उनले रु आठ हजार पुरस्कार पाए ।
रेल्वे सेवा घाटामा: नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउछ । सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक सङ्कटतर्फ गइरहेको जानकारहरू बताउँछन् ।
आयल निगमले भन्यो: नेपाल आयल निगमले कच्चा तेल (क्रुड आयल) को तुलनामा प्रशोधित पेट्रोलियम पदार्थ महँगो हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्यका आधारमा नेपालमा खुद्रा मूल्य निर्धारण हुने भएकाले ‘क्रुड आयल सस्तो हुँदा पनि नेपालमा इन्धन महँगो भयो’ भन्ने दाबी भ्रामक भएको प्रष्ट्याएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल किन्नुपर्ने बाध्यता छ। ‘क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले तुलना गर्दा प्रशोधित मूल्य नै आधार मान्नुपर्छ,’उनले बताए।
नौ महिनामा २५ करोडभन्दा बढी राजस्व संकलन: आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा जुम्ला, कालिकोट र मुगु गरी तीन जिल्लाबाट २५ करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार साउनदेखि चैतसम्मको अवधिमा २९ करोड ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २५ करोड २८ लाख ८ हजार रुपैयाँ अर्थात् ८४ दशमलव ४० प्रतिशत राजस्व संकलन भएको छ ।

