काठमाडौं - नेपाल आयल निगमले कच्चा तेल (क्रुड आयल) को तुलनामा प्रशोधित पेट्रोलियम पदार्थ महँगो हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्यका आधारमा नेपालमा खुद्रा मूल्य निर्धारण हुने भएकाले ‘क्रुड आयल सस्तो हुँदा पनि नेपालमा इन्धन महँगो भयो’ भन्ने दाबी भ्रामक भएको प्रष्ट्याएको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल किन्नुपर्ने बाध्यता छ। ‘क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले तुलना गर्दा प्रशोधित मूल्य नै आधार मान्नुपर्छ,’उनले बताए।
नेपालले पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आयात गर्दै आएको छ, जहाँबाट प्राप्त मूल्यका आधारमा प्रत्येक १५ दिनमा मूल्य समायोजन हुन्छ।
निगमका तथ्यांकअनुसार १६ अप्रिल २०२६ मा क्रुड आयल प्रति ब्यारेल ९९.६ डलर हुँदा पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर पुगेको थियो। २ अप्रिलमा भने मूल्य अझै उच्च रहँदै क्रुड ११८.३ डलर, पेट्रोल २६२ डलर र डिजेल ३३४.४ डलरसम्म पुगेको थियो।
सामान्य अवस्थामा क्रुड र पेट्रोलबीच करिब १० डलर तथा क्रुड र डिजेलबीच २० डलर अन्तर रहने भए पनि पछिल्लो समय यो अन्तर अस्वाभाविक रूपमा बढेको निगमले जनाएको छ। यसले नेपालजस्ता प्रशोधित इन्धन आयात गर्ने देशहरूमा मूल्यवृद्धिको दबाब बढाएको छ।
यसबाहेक भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कले पनि अन्तिम खुद्रा मूल्यमा प्रभाव पार्ने निगमको भनाइ छ।
हालै निगमले वैशाख ३ गतेदेखि डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरेको थियो। मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर करिब ९९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भइरहेकाले १५ दिनमै करिब ५ अर्ब ७५ करोड रुपैयाँसम्म घाटा हुने अवस्था रहेको प्रवक्ता ठाकुरले बताएका छन्।

