काठमाडौं - विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।
यसै क्रममा शनिबार विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरीरपार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुन स्थापित गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले संग्रहालयको जुद्ध जातीय कला शालामा राखिएको यो मूर्ति बुझेर ल्याएकी हुन् ।
सङ्ग्रहालयका प्रमुख अरुण नकर्मी, हनुमान ढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्त्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे बिन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएकी हुन् । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।
औपचारिक कार्यक्रम गरेर कार्यक्रम मनाउनुभन्दा सम्पदा दिवसका दिन प्राचीन मूल्य, धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता स्थापित गर्ने कार्यक्रम गर्ने योजना अनुरुपमा समुदायको जिम्मेवारीमा मूर्ति पुन स्थापित गरिएको कार्यवाहक प्रमुखले प्रतिक्रिया दिए ।
‘काठमाडौँ खुला सङ्ग्रहालय हो । यहाँ कला कौशल मात्र होइन । सांकेतिक रूपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ । यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ । समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनः स्थापित गर्ने निर्णय गरेका हौँ ’ उनले भनिन् ।
महानगरपालिकाको प्रतिष्ठा र पहिचानमा एउटा इँटा थपिएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिबद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।’वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मूर्तिको सुरक्षा र संरक्षणका लागि स्थानीय समुदाय प्रतिबद्ध रहेको बताए ।
चोरिएर लन्डन पुगेको यो मूर्ति, नेपाली दूतावास बेलायतबाट फिर्ता भएपछि पुरातत्त्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राख्न पठाएको थियो ।
हनुमान ढोका दरबार क्षेत्रमा भएका सम्पदाहरूको संरक्षण र व्यवस्थापनका लागि २०८३ वैशाख २ गते महानगरपालिकाका कार्यवाहक प्रमुखको अध्यक्षतामा उहाँकै कार्यकक्षमा त्यस क्षेत्रको सम्पदा व्यवस्थापनको कानुनी दायित्व भएका कार्यालयका अधिकारी, स्थानीय र अभियानकर्ताहरूका बिच बैठक बसेको थियो ।

