Harsamaya
इन्धन मूल्यवृद्धिको विरोध गर्दै उज्यालो पार्टीद्वारा सरकारसमक्ष ६ बुँदे माग
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिप्रति विरोध गरेको छ । प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेको छोटो अवधिमै इन्धनको मूल्यमा भारी वृद्धि भएको भन्दै पार्टीले सरकारको आलोचना गरेको हो ।

पार्टीद्वारा जारी विज्ञप्तिमा गत २६ मार्चमा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य १६ अप्रिलसम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको छ भने १६७ रुपैयाँ रहेको डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ । यसरी छोटो समयमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँको वृद्धि हुनुले आम सर्वसाधारण र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको पार्टीको ठहर छ ।

पार्टीले नेपाल र भारतबीचको मूल्य अन्तरबारे पनि चिन्ता व्यक्त गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले कर समायोजन र अनुदानमार्फत जनतालाई राहत दिए पनि नेपाल सरकारले भने केवल मूल्य बढाउने निर्णयलाई मात्र अनुमोदन गरिरहेको आरोप उज्यालो नेपाल पार्टीले लगाएको छ ।

पार्टीले सरकारसमक्ष राखेका ६ बुँदे मागहरू:
१. पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाइयोस् ।
२. मूल्य स्थिरीकरण कोषको रकम तत्काल परिचालन गरी जनतालाई राहत दिइयोस् ।
३. नेपाल र भारतबीचको मूल्य अन्तर कम गर्न विशेष संयन्त्र बनाइयोस् ।
४. बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन गरियोस् ।
५. विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगमा विशेष सहुलियत दिई इन्धन निर्भरता घटाइयोस् ।
६. नेपाल आयल निगमको वास्तविक लागत र कर संरचनामा पूर्ण पारदर्शिता कायम गरियोस् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update