सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दादेर्है’ मा राखिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो । कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश: पूर्वऊर्जा मन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबारको सुनुवाई सकिएपछि थुनामुक्तिको आदेश दिएको हो । खड्कालाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा थिए । खड्काको थुना कानुनसम्मत नभएको ठहर सर्वोच्चको छ । तर, विदेश जानको लागि अदालतको आदेश अनिवार्य गरिदिएको छ ।
विभागको मनसुन लक्षित तयारीः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनलाई लक्षित गर्दै सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् ।
जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
प्रम बालेनसँग मुख्यमन्त्रीहरुको गुनासै गुनासो: प्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो प्रस्तुत गरेका छन् । प्रधानमन्त्री शाहसँग आज भएको छलफलमा उनीहरुले समान किसिमका समस्या प्रस्तुत गरेका थिए । त्यस्ता समस्याहरुमा प्रदेशमा कर्मचारी अभाव, समन्वयको कमी र सङ्घीय कर्मचारीको असहयोगजस्ता गुनासा थिए । उनीहरुले आवश्यक प्रशासनिक समूहका कर्मचारी नपाएको र पठाइएका कर्मचारीबाट अपेक्षित काम हुन नसकेको गुनासो प्रधानमन्त्रीसमक्ष गरे ।
पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन: नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो । उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
सभापतिमा मनोनयन दर्ता: संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि संसद सचिवालयमा मनोनयन दर्ता भएको हो । कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ ।

