Harsamaya
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनलाई लक्षित गर्दै सम्भावित विपद्‌बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । 

विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् । ‘तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ’, उनले भनिन्, ‘भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ ।’

श्रेष्ठका अनुसार देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्यांक वास्तविक समयमा विभागको ‘वेबसाइट’मार्फत सार्वजनिक गरिनेछ । बाढी जोखिम न्यूनीकरणका लागि प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीमा तीन दिनअगावै बाढी पूर्वानुमान गरिने विभागले जनाएको छ । 

स–साना नदीमा हुने आकस्मिक बाढीको दुईदेखि ६ घण्टा अगावै सूचना दिने व्यवस्था मिलाइएको र देशव्यापी ठूलो बाढीको सम्भावना भएमा पाँच दिनअगावै पूर्वानुमान जारी गरिने विभागको तयारी छ । पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई प्राथमिक रूपमा जानकारी गराइने व्यवस्था गरिएको विभागले जनाएको छ । विशेष परिस्थितिमा प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणलाई सचेत गराइने विभागको भनाइ छ ।     

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update