Harsamaya
 ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना, बालबालिकासहित १५ जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

उदयपुर - उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा बालबालिकासहित १५ जना घाइते भएका छन्। ब्रेक फेल भएपछि जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालकसहित १५ जना घाइते भएका छन्।

दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–११ निवासी २९ वर्षीय चालक निर्पबहादुर खड्का घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर भुजेल, उनका १४ वर्षीय छोरा रेहान भुजेल र सात वर्षीया छोरी प्रिन्सिका भुजेल घाइते भएका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा पनि दुर्घटनामा घाइते भएकी छन्।

उदयपुरको कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर, सोही स्थानकी ६० वर्षीया गोमा श्रेष्ठ तथा कटारी नगरपालिका–५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दीक्षित दाहाल घाइते भएका छन्।

त्यसैगरी कटारी नगरपालिका–११ की २१ वर्षीया निर्मला राउत, सोही स्थानकी २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु पनि दुर्घटनामा घाइते भएका छन्।

दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी र सिन्धुलीको दुधौली नगरपालिका–११ निवासी प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेलसमेत घाइते भएका छन्।

घाइते १५ जनामध्ये ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। अन्य घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सामान्य घाइते भएका चालक खड्कालाई उपचारपश्चात् नियन्त्रणमा लिइएको छ। दुर्घटनाको कारण र घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update