गुल्मी - गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
बुधबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा बा.अ.अ. ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो। दुर्घटनामा परी पाँच जनाको घटनास्थल मृत्यु भएको थियो भने निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय स्कारपियो चालक दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे र सिरकोट घर भई हाल बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डेको मृत्यु भएको छ।
त्यस्तै, निता बगालेको पनि उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।
घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। गोमता पाण्डेको मिसन अस्पताल पाल्पामै उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा रेफर गरिएको छ। उनीहरू दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट घाइते तथा मृतकहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याएको थियो।
दुर्घटना के कारणले भएको हो भन्ने खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

