गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति
परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् । यता, नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताएका छन् । खड्काले पार्टी कार्यावाहक सभापतिको हैसियतले एक विज्ञप्ति जारी गरी पार्टी सदस्यता कुनै नेताको भाषणमार्फत खारेज गर्न नसक्ने बताए । यस्तै, सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे-नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
समाचार
वर्षौंदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं संघसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आव्हान गरेका हुन्। यता अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । श्रीलंकाको कोलम्बोबाट श्रीलंकन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै, नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूको दैनिकीमा पर्न थालेको छ। नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ । यता, पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् ।
अर्थ
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारी गरिने वस्तुहरूमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिहरूबीच आज भएको छलफलले उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउने उद्देश्यका साथ एमआरपी अनिवार्य गर्ने निर्णय गरेको छ । यस्तै, प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ । बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । यता, पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।
खेलकुद
याँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ को उपाधि बैंकर्स क्लब धनगढीले जितेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको आज सम्पन्न फाइनलमा फारवेष्ट पशुपति युवा क्लबलाई पराजित गर्दै बैंकर्स क्बल धनगढी च्याम्पियन भएको हो । यता, ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज सम्पन्न भएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १७ पदकसहित मातातीर्थ प्रथम भएको हो ।
विश्व
अमेरिका–इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको संयुक्त राष्ट्रसंघको सामुद्रिक निकायका प्रमुखले बताएका छन् । संयुक्त राज्य अमेरिकाले सोमबारदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने चेतावनी दिएपछि उनको यस्तो भनाइ आएको हो । यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो क्षेत्रमा तेहरानको सेनाले नियन्त्रण जारी राखेको छ । यता, इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्याएको छ । यस्तै, इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार २०२५ मा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ ।


