प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार विज्ञप्तिमार्फत् मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो । सरकार बनेको १७ दिनमै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
प्रधानमन्त्री बालेनको संजालबाट १ करोड बढी आम्दानी: प्रधानमन्त्री बालेन शाहको बैंक मौज्दात १ करोड ४६ लाख रूपैयाँ रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री शाहसँग नगद मौजदात १ करोड ४६ लाख रूपैयाँ रहेको उल्लेख छ । उक्त रकम फेसबुक, युट्युब, टिकटक सहितका सामाजिक संजालबाट प्राप्ति भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको आमा ध्रुव देवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको उनले उल्लेख गरेका छन् । बालेनले भरेको सम्पत्ति विवरणमा उनको बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ ।
गृहमन्त्रीको सम्पत्तिः गृहमन्त्री सुधन गुरुङसँग २६० रोपनी भन्दा बढी जग्गा रहेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरुङले उक्त कुरा उल्लेख गरेका छन् । गृहमन्त्री गुरुङकै नाममा धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना जग्गा रहेको छ । उनले लगानीबाट प्राप्त आयबाट उक्त जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी, उनको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा पैत्रिक जग्गा र बाजे रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् ।
विमानस्थल सुधार अभियान : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलहरूमा सरसफाइ र यात्रु सेवा सुधार गर्न विशेष अभियान सञ्चालन गरेको छ । मन्त्रालयले गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका सबै विमानस्थलमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री सुविधाहरू तत्काल सुधार गर्न २४ घण्टे निर्देशन दिएको थियो । निर्देशनपछि विभिन्न विमानस्थलहरूले सुधारका कार्यहरू अघि बढाएका छन् । भद्रपुर विमानस्थल र तुम्लिङटार विमानस्थल लगायतका स्थानमा सरसफाइ र व्यवस्थापन सुधार भएको दृश्य मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ ।
सरकारको अदूरदर्शी निर्णयले ४० प्रतिशतले बढ्यो केराको मूल्य: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीको दैनिक मूल्यसुचि अनुसार पछिल्लो एकवर्षमा केराको मूल्य प्रतिदर्जन ४० प्रतिशतले बढेको पाइएको छ । गतवर्षको चैत २८ मा एक दर्जन केराको औषत थोक मूल्य १५० रुपैयाँ रहेकोमा यो मूल्य बढेर आजको दिन २१० रुपैयाँ पुगेको हो । नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्मर बानियाँले सरकारको अदूरदर्शी निर्णय र अव्यवहारिक प्रतिबन्धका कारण केरा बजारमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।
प्रधानमन्त्री कप: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेश आठ विकेटले पराजित गरेको हो । सुरुआती ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । टोलीका सन्तोष यादवले ७७ बलमा ८२ र सल्लाहद्धिन खानले ७७ बलमा ६० रन जोडेका थिए । गण्डकीका विपिन खत्रीले चार विकेट र अपराजित पौडेलले तीन विकेट लिए ।
सुनचाँदीको मूल्य बढ्यो: साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ ।

