Harsamaya
नेपाल-भारत सीमामा कडाइको असर : नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

रौतहट - नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूको दैनिकीमा पर्न थालेको छ।

नेपालतर्फ भारतीय सवारी साधनमाथि निगरानी र कडाइ सुरु भएपछि त्यसको प्रतिउत्तरमा भारतीय पक्षले पनि नेपाली सवारी साधनलाई इन्धन दिन छाडेको छ ।

भारतको वैरगनिया क्षेत्रस्थित नन्दबारा नजिकका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेटका सवारीलाई पेट्रोल नदिइने’ भन्दै स्पष्ट सूचना नै टाँस गरेका छन् । यसले परापूर्वकालदेखि चल्दै आएको सहज आवतजावत र किनमेलको परम्परामा बाधा पुर्‍याएको छ ।

गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।

तर अहिले नेपाली सवारीलाई इन्धन दिन अस्वीकार गरिनुले दुई देशबीचको ‘रोटी–बेटी’ सम्बन्धमा नकारात्मक सन्देश गएको उनको बुझाइ छ । उनले आगामी दिनमा खाद्यान्नलगायत अन्य सामग्रीमा पनि यस्तै प्रतिबन्ध लाग्न सक्ने आशंका व्यक्त गरे।

यस्तै, दुर्गा भगवती गाउँपालिका–१ का एक स्थानीयले आफ्नो पीडा सुनाउँदै भने, ‘भारतबाट आफन्त लिएर फर्कंदा बाटोमै पेट्रोल सकियो । नजिकैको पम्पमा जाँदा नेपाली नम्बर प्लेट भएकै कारण तेल दिइएन। बाध्य भएर मोटरसाइकल धकेल्दै बजार पुगेर बोतलमा तेल किनेर यात्रा पूरा गर्नुपर्‍यो ।’

नेपाल र भारतबीचको मूल्य अन्तर पनि यो कडाइको एउटा मुख्य कारण मानिएको छ। भारतमा पेट्रोलियम पदार्थ नेपालको तुलनामा झण्डै ५० रुपैयाँ प्रतिलिटर सस्तो छ। सस्तो इन्धनको फाइदा उठाउँदै नेपालतर्फ तस्करी हुन सक्ने र आफ्ना नागरिकका लागि मौज्दात जोगाउन भारतले यस्तो कदम चालेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

अर्कोतर्फ, नेपालले भारतीय सवारीमाथि भन्सार र प्रवेशमा कडाइ गरेपछि त्यसको ’काउन्टर’ स्वरूप भारततर्फ यस्तो व्यवहार देखिएको स्थानीयको दाबी छ ।

भारतको वैरगनियास्थित ‘हिन्दुस्तान’का पत्रकार राजकपुरका अनुसार सीमा क्षेत्रको व्यापार नेपाली ग्राहककै भरमा चलिरहेको अवस्थामा यस्तो व्यवहारले दुवै पक्षलाई घाटा पुग्ने देखिन्छ। उनले यस समस्यालाई दुई देशका सरकारले कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

समन्वयको अभाव र सीमा नीतिमा आएको फेरबदलले गर्दा खासगरी मधेश प्रदेशका सीमावर्ती नागरिकहरू मारमा परेका छन्। (दिपेश पौडेल)

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update