Harsamaya
आज जनआन्दोलन दिवस मनाइँदै
जनआन्दोलन दिवस ।

काठमाडौं - नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । 

विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो । 

नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो । 

कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update