Harsamaya
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र युएईमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

सरकारी प्रसारण माध्यमका अनुसार, लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र युएईतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो ।

इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार, मङ्गलबार राति संघर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो । उक्त आक्रमणलाई कम्पनीले ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेको छ ।

हाल आगलागी नियन्त्रणका लागि सुरक्षा तथा दमकल टोली सक्रिय रूपमा खटिएको र संरचना सुरक्षित बनाउने प्रयास भइरहेको जनाइएको छ । कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको कारण मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ ।

लावान टापुस्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ । उपलब्ध तथ्यांकअनुसार, यो प्रशोधन केन्द्र इरानका प्रमुखमध्ये एक हो र दैनिक करिब ६० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ ।

यसअघि पनि खाडी क्षेत्रमा रहेका इरानी टापुहरू द्वन्द्वका क्रममा आक्रमणको निशानामा परेका थिए । विशेषगरी तेल निर्यातका लागि महत्वपूर्ण खार्ग टापुमा रहेका सैन्य संरचनाहरूमा दुई पटक हवाई आक्रमण गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update