काठमाडौं - इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रूपमा बस्न आग्रह गरेको छ।
दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्धजन्य परिस्थितिका कारण सम्भावित जोखिम बढ्न सक्ने उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो।
‘संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सतर्क र सुरक्षित रूपमा रहन अनुरोध छ,’ दूतावासले जनाएको छ।
दूतावासले इजरायल सरकार तथा त्यसका आधिकारिक निकायहरूबाट जारी हुने सूचना र निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।
साथै, विकसित घटनाक्रमबारे नियमित रूपमा अद्यावधिक जानकारी राख्न र सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा सेयर नगर्न पनि सचेत गराइएको छ।
त्यसैगरी, राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्डलगायत आवश्यक कागजात सधैं साथमा राख्न दूतावासले अनुरोध गरेको छ।


