Harsamaya
चैत २१:  कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढेको देखि १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको सम्म
ग्राफिक्सः हर समय/harsamaya

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सङ्घीय सांसद्लाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ ।सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिए। त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न) बारेमा प्रशिक्षण दिएका थिए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्यो: नेपाली कांग्रेसले आजदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।कांग्रेसको १५ औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ‘जरा अभियान’ सञ्चालन गरिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य रहेको स्पष्ट पारे ।

रौतहट प्रशासनको आग्रह:  जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। 

१९ निर्माण कम्पनीलाई स्पष्टीकरण: भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता भएको दुई महिना बितिसक्दा पनि निर्माण कार्य सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गरेका ती कम्पनीहरूले निर्धारित समयभित्र काम सुरु नगरेपछि सात दिनभित्र कारणसहित स्पष्ट जवाफ दिन पत्राचार गरिएको कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिए।

आरोप–प्रत्यारोप त्याग्यौं:  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेता कोइरालाले १८ वर्षको अवधिमा संस्थाले सोचेजति प्रगति गर्न नसकेको स्वीकार गरे । उनले भने,‘संस्थाले १८ वर्षमा जति सोचेको थियो, त्यति काम गर्न सकेको छैन । अब एक–अर्कालाई दोष लगाएर बस्ने समय होइन, कसैलाई आरोप नलगाई संस्थालाई अगाडि बढाउनु पर्छ ।’

प्रहरी अप्रेसन:  काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने एक ८९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही थालिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा मात्रै एक सय ५० जना पक्राउ गरिएको उनले बताए।

दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने: रामायणको एउटा दुर्लभ ३०० वर्ष पुरानो पाण्डुलिपि अन्तर्राष्ट्रिय राम कथा संग्रहालयमा सार्वजनिक प्रदर्शनको लागि दान गरिने भएको छ । जसले भारत अयोध्या शहरको सांस्कृतिक र आध्यात्मिक सम्पदामा थप महत्व दर्शाउने अपेक्षा गरिएको छ । संग्रहालयसँग सम्बन्धित अधिकारीहरूका अनुसार, पाण्डुलिपिले विशाल ऐतिहासिक र धार्मिक मूल्य बोकेको छ । जसले प्रारम्भिक शास्त्रीय परम्परा र संरक्षण अभ्यासहरूमा अन्तर्दृष्टि प्रदान गर्दछ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update