Harsamaya
काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधियो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

खोटाङ - भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता भएको दुई महिना बितिसक्दा पनि निर्माण कार्य सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गरेका ती कम्पनीहरूले निर्धारित समयभित्र काम सुरु नगरेपछि सात दिनभित्र कारणसहित स्पष्ट जवाफ दिन पत्राचार गरिएको कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिए।

उनका अनुसार समयमै काम सुरु नभए वर्षायामका कारण निर्माण प्रभावित हुने, आर्थिक वर्षको अन्त्यतिर गरिएका काम गुणस्तरीय नहुने तथा बजेट ‘फ्रिज’ हुने जोखिम रहने भएकाले यस्तो कदम चालिएको हो।

कार्यालयले शान्तिभूमि कन्स्ट्रक्सन प्रा.लि. खोटाङ, विश्वशिखर निर्माण सेवा उदयपुर, पाथीभरा निर्माण सेवा उदयपुर, बी एन्ड बी निर्माण सेवा उदयपुर, डिबी कन्स्ट्रक्सन उदयपुर, अर्जुन पोइन्ट इन्जिनियर डेभलपर्स प्रा.लि. काठमाडौँलगायत १९ कम्पनीसँग स्पष्टीकरण मागेको जनाएको छ।

निर्धारित समयभित्र काम सुरु नगरेमा म्याद थप नगर्ने र कानुनअनुसार बैंक जमानत जफत गरिने चेतावनीसमेत दिइएको छ। कार्यालयका लेखा अधिकृत सीताराम राउतका अनुसार चित्त नबुझ्दो जवाफ आएमा थप कारबाही अघि बढाइनेछ।

चालु आर्थिक वर्षमा जिल्लामा १२३ योजनामा ठेक्का सम्झौता भएकोमा २६ योजना बाहेक अन्य योजनामा निर्माण कार्य तीव्रगतिमा अघि बढिरहेको कार्यालयले जनाएको छ। साथै, केही योजना जग्गा विवाद र बजेट अभावका कारण प्रभावित भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update