काठमाडौं - काठमाडौंमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा हालसालै सम्पन्न चुनाव र नेपालको परराष्ट्र नीतिका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले चुनावको राजनीतिक प्रक्रिया र त्यसले परराष्ट्र नीतिमा पार्ने प्रभावबारे चर्चा गरेका छन् ।
उनले जेनजी आन्दोलन, संसद विघटन, नयाँ चुनाव, एमसीसी सम्झौता र छिमेकी देशहरूसँगको सम्बन्धलाई उठाएका छन् ।
सिंहले भने, ‘हाल सम्पन्न चुनावको राजनीतिक प्रकृति विगतका चुनावभन्दा फरक र असाधारण छ । त्यसैले अहिलेको चुनाव र परराष्ट्र नीतिबीचको सम्बन्ध पनि पहिलेभन्दा गम्भीर र विचारणीय बनेको छ । यो सम्बन्ध बुझ्नाले देशको तत्कालीन राजनीति र दीर्घकालीन प्रभावको बारेमा पनि स्पष्ट दृष्टिकोण मिल्छ ।’
उनले उक्त चुनाव आवश्यक नभएको भन्दै यसको उद्देश्यबारे प्रश्न उठाए । सिंहका अनुसार, जेनजी आन्दोलनले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन गरेको थियो । तर यस आन्दोलनलाई केही विदेशी शक्ति, विशेषगरी अमेरिकाले आफ्नो रणनीतिक स्वार्थका लागि हाइज्याक गरेको उनको दाबी छ ।
सिंहले अमेरिकाको विश्वव्यापी रणनीतिक अभ्यासको उदाहरण दिँदै भने, ‘नेपालमा संसद विघटन गरी नयाँ चुनाव गराउने प्रक्रिया अमेरिकी रणनीतिक आवश्यकता अनुसार अघि बढाइएको थियो । यसले एमसीसी, इन्डोप्यासिफिक रणनीति र तिब्बतको मुद्दामा नेपालको भूमिलाई प्रयोग गर्ने अवसर दिएको छ ।’
उनले भारत र चीनसँगको सम्बन्धलाई पनि समेट्दै भने, ‘नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेको भू–राजनीतिक दृष्टिले संवेदनशील राष्ट्र हो। भारतले कालापानी क्षेत्रमा अतिक्रमण र नाकाबन्दी गरेको छ भने चीनले आफ्नो नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई उपेक्षा गरेको छ । यसैले नेपालले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकता कायम राख्न दुवै देशसँग मैत्रीपूर्ण तर सन्तुलित नीति अपनाउनुपर्ने आवश्यक छ ।’
सिंहले अमेरिकी साम्राज्यवादलाई विश्वव्यापी समस्या ठहर गर्दै नेपालमा पनि यसको प्रभाव देखिएको बताए ।
उनले राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति कायम राख्न सम्पूर्ण देशभक्त नेपाली नागरिकहरूलाई सचेत रहन आह्वान गरे । उनले भने, ‘नेपालले आफ्नो परराष्ट्र नीतिलाई राष्ट्रहित, सार्वभौमिकता र शान्तिको पक्षमा अघि बढाउनुपर्नेछ । विदेशी हस्तक्षेप, साम्राज्यवाद र युद्धका विरुद्ध स्पष्ट अडान लिनु हामी सबैको जिम्मेवारी हो ।’

