काठमाडौं - परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धबारे अफवाह फैलाएको आरोपमा खाडीका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पक्राउ पर्नेमा साउदी अरेबियामा चार, संयुक्त अरब इमिरेट्स र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन्।
क्षेप्यास्त्र तथा ड्रोन आक्रमणसँग सम्बन्धित तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी डर–त्रास फैलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। त्यस्ता सामग्री सार्वजनिक गर्नु सम्बन्धित देशको कानुनअनुसार दण्डनीय हुने व्यवस्था छ।
पक्राउ परेका नेपालीहरूको अवस्था तथा रिहाइका विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरूसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। साथै, उनीहरू कुन कानुनी प्रावधानअन्तर्गत पक्राउ परेका हुन् र कस्तो सजाय लाग्ने भन्नेबारे विवरण संकलन भइरहेको छ।
मन्त्रालयका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका बाबजुद नेपाली कामदारको रोजगारी गुम्ने ठूलो जोखिम नरहेको जानकारी प्राप्त भएको छ। यद्यपि होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा केही चिन्ता देखिएको बताइएको छ।
युद्धका कारण असुरक्षित महसुस गर्ने नेपालीको उद्धार कार्य जारी रहेको जनाउँदै मन्त्रालयले सञ्चालन गरेको ‘कल सेन्टर’मार्फत हालसम्म ८६ हजार ४२० जनाले विवरण दर्ता गराएका छन्। पछिल्लो समय आफू असुरक्षित रहेको जानकारी गराउनेको संख्या क्रमशः घट्दै गएको पनि मन्त्रालयले जनाएको छ।

