काठमाडौं - सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी ९० लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, ‘सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी रु ९० लाख जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न निज गुरुङलाई पक्राउ गरिएको हो ।’
गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी आज ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

