सिरहा - लहान नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूले चार महिनादेखि तलब नपाउँदा दैनिकी सञ्चालन गर्नै कठिन भएको बताएका छन्।
नगरपालिकाका सम्पूर्ण खाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोक्का गरेपछि तलब वितरण ठप्प भएको हो। मङ्सिरदेखि तलब–भत्ता मात्र होइन, विद्यालयसँग सम्बन्धित पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र व्यवस्थापन अनुदानसमेत रोकिएको बताइएको छ।
पालिकाका एक प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार तलब नपाउँदा दैनिक खर्च धान्न र बैंकको ऋण तिर्न समेत समस्या भएको छ।
नगरप्रमुख महेशप्रसाद चौधरीले भने खाता रोक्काको कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद र राजनीतिक पूर्वाग्रह रहेको दाबी गरेका छन्। उनका अनुसार मन्त्रालयले चुनावपछि खाता फुकुवा गर्ने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन भएको छैन।
मन्त्रालयले साविकका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई सरुवा गरी शिक्षातर्फका उपसचिव खिम भुजेललाई पठाउन खोजेपछि विवाद सुरु भएको हो। झाले सरुवा रोक्न माग गर्दै प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए, जसमा अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिएको थियो।
यसबीच कर्मचारीहरूले इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै नयाँ वर्ष २०८३ र सिरुवा पर्वअघि तलब भुक्तानी नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

