Harsamaya
तातोपानी नाका तत्काल खोल्न सांसद पराजुलीको माग
प्रतिनिधिसभा सदस्य भरत पराजुली ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य भरत पराजुलीले बाढीपहिरोका कारण केरुङ र कोरला नाका बन्द भएपछि तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले पछिल्लो चार दिनमा देशभर बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे।

उनले मुस्ताङको नेचुङ–कोरला नाका बन्द भएपछि चीनतर्फ नेपालको स्थल कनेक्टिभिटी पूर्णरूपमा अवरुद्ध भएको बताए।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि केरुङबाट नेपालतर्फ आउन लागेका कन्टेनरलाई खासा हुँदै ल्याउन अनुरोध गरिएको भए पनि चीन सरकारले कोरला नाकाबाट ल्याउने गरी बाटो खुलाएको उनले बताए। तर, कोरला नाका पनि बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि हजारौँ कन्टेनर अलपत्र परेको उनको भनाइ छ।

‘अहिले हामीले तत्कालै सुरुवात गर्न सकिने भनेको तातोपानी नाका हो,’ उनले भने, ‘तातोपानी नाकामा भाग्यवश अहिले केही भएको छैन। यहाँबाट सहज रूपमा तातोपानी पुग्न सकिन्छ।’

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update