नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गरेका छन्। बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन् । आफ्नो ६ महिने कार्यकाल सफलताका साथ पूरा गरी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि उनले सम्बोधन गरेकी हुन् । सो क्रममा उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको असहज परिस्थितिमा सत्ता सम्हाल्नुभएलेकी कार्कीले देशलाई लोकतान्त्रिक र संवैधानिक मार्गमा फर्काउन आफ्नो सरकार सफल रहेको भन्दै खुसी प्रकट गरिन् ।
रास्वपा संसदीय दलको नेतामा बालेन: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
नवनिर्वाचित सांसदले लिए शपथ: तिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् । नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
इनिशा हत्या प्रकरण: १६ वर्षीया बालिका इनिशा विक हत्या प्रकरण अब अदालत प्रवेश गर्ने भएको छ ।दुई साता लामो अनुसन्धानपछि बुधबार प्रहरीले सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकील कार्यालयले अध्ययन गरिरहेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकील कार्यालयले आइतबारसम्म अदालतमा पेश गर्ने तयारी गरेको छ ।प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि जिल्ला सरकारी वकीलको कार्यालयले अभियोगपत्र तयार पारेर अदालतमा पेश गर्नेछ ।
बालेनले ल्याए ‘जय महाकाली’: रास्वपाका वरिष्ठ नेता बालेन शाहले शपथ लिनुअगाडि बिहीबार सांगीतिक उपहार सार्वजनिक गरेका छन्। र्याप गायक समेत रहेका शाहले आफ्नो विजय र परिवर्तनको सङ्कल्पलाई समेटेर ‘जय महाकाली’ बोलको गीत ल्याएका हुन्। यो गीतमा बालेनको राजनीतिक यात्रा, चुनावी अभियानका उतारचढाव र उनलाई जनताले दिएको अपार समर्थनलाई दृश्य र शब्दका माध्यमबाट व्यक्त गरिएको छ।
सुनचाँदीको मूल्य घट्यो: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

