भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए। उनका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यमा परेका थिए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
मौसममा हुन थाल्यो सुधारः मौसममा सुधार हुन थालेको छ । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको हो।जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँइन् । उनले शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताइन् । पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ ।
मध्यपूर्वमा हुने उडानहरु रद्दः युद्धले मध्यपूर्वको हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै चैत ७ गतेका लागि तय गरिएका विभिन्न वायुसेवा कम्पनीका उडानहरू रद्द गरिएको जानकारी दिएको हो। विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका उडानहरू रद्द भएका छन्।
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिसः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा रु एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले वित्तीय समानीकरण अनुदानको रकम प्रदेश सरकारको हकमा रु ६१ अर्ब ५० करोड ३२ लाख र स्थानीय सरकारलाई रु ९० अर्ब २० करोड ४६ लाख बराबर उपलब्ध गराउन सिफारिस गरेको हो ।
देउवा सिङ्गापुरबाट हङकङ प्रस्थानः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए ।
आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्पः डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने रणनीतिबारे आन्तरिक परामर्श गरिरहेको खबर सार्वजनिक भएको छ । अमेरिकी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, इरान को आणविक भण्डार नियन्त्रणमा लिन सकिने सम्भावित विकल्पहरूबारे उच्चस्तरीय छलफल भइरहेको छ । यद्यपि, कुनै पनि सैन्य वा विशेष अपरेसनबारे अन्तिम निर्णय भने अझै गरिएको छैन र यसको समयसीमा पनि स्पष्ट छैन ।
एचजेएनबीएल : हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा के भिसी हाउण्ड्सले तेस्रो जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबाबार भएको खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लब फाई १०६-७३ को स्कोरमा पराजित गरेको हो ।सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ । हाउण्ड्सले ६ खेलबाट ९ अङ्क जोडेको छ । हाउण्ड्सले पहिलो क्वाटर २०-१३ र दोस्रो क्वाटर ३७-१६ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ५७-२९ को अग्रता बनाएको थियो ।

