काठमाडौं - देब व्रतका कविताहरूमा प्रेम सरल र रमाइलो अनुभूति होइन, बरु समय, समाज र जीवनका संघर्षसँग गाँसिएको जटिल यथार्थका रूपमा देखिन्छ । “शहर” मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने “तिमी गए पनि हुनेछ प्रेम” मा प्रेम निरन्तर रहने भावनाका रूपमा प्रस्तुत हुन्छ । “पृथ्वी” मा भने विश्वव्यापी पीडा र असमानताबीच प्रेम पनि थाकेको र संघर्षरत देखिन्छ । समग्रमा, उनका अनुसार प्रेम परिवर्तनशील, चोट खाँदै पनि कुनै न कुनै रूपमा जीवित रहने अनुभूति हो ।
कविता : शहर
सधैँ सतर्क भएर हिँड्नु यो शहरमा ।
पशु, चौपाया बौलाएका छन् ।
चराचुरुङ्गी बौलाएका छन् ।
आइमाई, केटाकेटी, लोग्ने मान्छे
यो शहरका मान्छेहरू बौलाएका छन् ।
एक सडक छ ।
छन् सयौँ भूलभुलैयाँ ।
कहाँ जाने हो ? कहाँ पुग्ने हो ?
यहाँ रोकिन मनाही छ
र पुग्न सख्त मनाही छ ।
यो शहरका साँगुरा चोकहरूमा
हिँडिरहेछन् हर कोही
बस हिँडिरहेछन् ।
काटिएको छ टाउको,
बाँधिएका छन् पैताला ।
मेटाइएको छ सिमा रेखा,
छैन कुनै छुनुपर्ने अन्तिम बिन्दु ।
कहाँ जाने हो ? कहाँ पुग्ने हो ?
यहाँ रोकिन मनाही छ
र पुग्न सख्त मनाही छ ।
शहर आफूभन्दा अग्ला सिर काटेर हिँड्छ,
आफूभन्दा होचा सिरहरूमा टेक्दै हिँड्छ ।
जसले आफ्नो काखमा राखेर
लट्ठा परेको कपाल कोरिदिएको थियो,
आज उसैलाई
यो शहरमा टेक्ने जमिन छैन,
समाउने हाँगो छैन ।
जसका आँखामा बसेर
हेरेको थियो शहरले भविष्यको ऐना,
उसैका आँखाबाट
यो शहरले आँखा झिकिदिएको छ ।
यो शहरबाट डराएर
दूर भागेको छ मृत्यु ।
यहाँका सडकमा
बट्टाका बट्टा जिन्दगी कैद गरेर,
थैलाका थैला सपनाहरू बोकेर
यात्रा गरिरहेछन् कंकालहरू ।
यहाँ मर्न सजिलो छैन
प्रत्येक दिन बाँचेर मर्नुपर्छ ।
यहाँ बाँच्न पनि सजिलो छैन
प्रत्येक दिन मरेर बाँच्नुपर्छ ।
यहाँ मर्न मनाही छ
र बाँच्न सख्त मनाही छ ।
अनुहार बेचेर
मान्छेहरूले यहाँ
प्लास्टिकको मुस्कान किनिरहेका छन् ।
जसका लागि बाँचेका छन्,
उसैको हत्या गरिरहेका छन्
यो शहरका मान्छेहरू ।
बौलाएका छन
शहर बौलाएको छ ।
२. तिमी गए पनि हुनेछ प्रेम
तिमी गए पनि हुनेछ प्रेम
उदासी, सन्नाटा र छटपटी हुनेछ
प्रतीक्षा कसैको ।
तिमी नहुँदा पनि थियो प्रेम ।
यो बाटो जहाँ तिमी कुदिरहेकी छौ,
यहाँ कोही अरू पनि कुद्थ्यो कहिले ।
ती आँखा
प्रेममय आँखा,
आँसु भरिएका आँखा,
रिस र उदेग लाग्दा आँखा,
घृणा र तिरस्कार मिसिएका आँखा
अब अरू कसैको प्रतीक्षा गर्छन् ।
अरू कसैको स्पर्शमा
रसाउँछन् ती ।
यो बाटो
जहाँ मुर्दा बोकेर मलामी कुदिरहेका छन्,
जीवन बोकेका श्रमिक उभिएका छन्,
दुर्घटनाग्रस्त अनुहारहरू ढलेका छन् ।
बिहान भएर कोही भत्किन्छ,
साँझ बनेर कोही दौडिन्छ ।
मालिकको कालो मोटर
फुटपाथका बटुवामाथि च्यापिन्छ ।
यहीँ छ साहुको पसल
जहाँ मलाई पर्खिरहेका आँखा छन् ।
यहीँ छ पूर्व प्रेमिकाको डेरा
जहाँ झ्याल खुल्लै राखेर
छकछक गरिरहन्छ उसको लोग्ने।
नाथे प्रेम
मानव किराना पसलको खुद्रा सामान जस्तो,
कुनै कर्पोरेट हाउसको जागिरे जस्तो ।
एउटा मान्छेसितको प्रेम
मान्छे जो मान्छेभन्दा बढी केही होइन,
जो जतिबेला रितिन सक्छ,
जो जतिबेला जोसितै भइदिन सक्छ।
यहाँ कसले गरेको छ प्रेम ?
को मरेको छ एक बहुलाई ?
को बाँचेको छ
एक भग्नावशेष अनुहार हेरेर ?
छोडिदेऊ
प्रेमका कुरा, छटपटीका कुरा, सम्झनाका कुरा ।
तिमी गए पनि हुनेछ प्रेम
उदासी, सन्नाटा र छटपटी हुनेछ
प्रतीक्षा कसैको ।
३. पृथ्वी
उथलपुथल, उलटपुलट छ पृथ्वीमा ।
दक्ष प्रजापतिको यज्ञकुण्ड जस्तो
छ यो भूगोल ।
कता कता नमिलेको,
कता कता चाउरिएको,
कता कता डल्लो परेको,
कता कता रोगन उडेको
हजुरबाको हुलिया जस्तो
भइसकेको छ पृथ्वी ।
कतै च्यात्तिएर बीचबाट
एक खुट्टा, एक हात,
छातीको एक पाटो,
एक आँखा, एक कान
आधा–आधा बोकेर
हिँडिरहेका छन् मान्छेहरू ।
कतै खाँदिएका छन् ।
संसारभरिका थोत्रा अनुहारहरू,
थोपारिएको छ कचरा मचरा ।
उथलपुथल, उकुसमुकुस
खुम्चिँदै खुम्चिँदै
मेरो कोठा बन्दैछ पृथ्वी ।
पानीले सोहोरेको फूल जस्तो,
आँसुले गलाएको अनुहार जस्तो,
समयले चुसेको मजदुरको ढाड जस्तो,
खियाले खाएको प्रेमीको हृदय जस्तो
भइसकेको छ पृथ्वी ।
कोही रोटी ठानेर खान्छ,
कोही पिज्जा मानेर चपाउँछ,
कोही ज्यादा ठानेर ओछ्याउँछ
कसैको त पृथ्वी नै छैन पृथ्वीमा ।
रात–रातभर रोइरहेछ रात,
क्षितिजबाट साँझले हाम फालेर
आत्महत्या गरेको छ ।
कतै च्यात्तिएर बीचबाट
उल्टो दौडिरहेका छन् बाटाहरू,
कतै च्यात्तिएर बीचबाट
घरहरू नै हिँडिरहेका छन्,
कतै च्यात्तिएर बीचबाट
नदीहरू विपरित बगिरहेका छन् ।
मेरो टाउकोमाथि
खस्नै लागेको छ आकाश
बीचबाट च्यात्तिँदै च्यात्तिँदै
म पनि आइपुगेको छु
खप्परसम्म ।

