Harsamaya
ग्यासको अवैध कारोबारबारे सूचना दिन विभागको निःशुल्क टेलिफोन नम्बर
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना वा जानकारी भए तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाउँदै बजारमा ग्यास लुकाउने, कालोबजारी गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने गतिविधि बढेको गुनासो आएपछि विभागले निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरेर सूचना दिन अनुरोध गरेको हो।

पछिल्ला दिनमा ग्यासको कालोबजारी, अत्यधिक भण्डारण तथा तोकिएकोभन्दा बढी मूल्यमा बिक्री वितरण भएको पाइएपछि उपभोक्तालाई सचेत रहन र यस्ता गतिविधिबारे जानकारी दिन विभागले आग्रह गरेको छ।

यसैबीच नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव भने कायम रहेको विभागले जनाएको छ।

विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले देशभर स्थलगत अनुगमन तथा निरीक्षण गर्दै आएको र कैफियत भेटिए तत्काल कारबाही गरिने जनाएको छ।

सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योग लाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगको ललितपुरको हरिसिद्धिस्थित गोदाममा लुकाएर राखिएको १४ दशमलव २ किलोग्राम तौलका ६ हजार ३७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ।

ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्ति प्रणाली सहज बनाउन तथा कृत्रिम अभाव र गैरकानुनी गतिविधि नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाएको छ। साथै सबै ग्यास उत्पादक उद्योग र वितरकलाई कानुनअनुसार मात्रै व्यापार व्यवसाय गर्न विभागले सचेत गराएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update