Harsamaya
दुई छोराछोरीसहित माया सम्पर्कविहीन
प्रतिकात्मक तस्वीर ।

कर्णाली - सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् ।

श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका  छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको प्रहरी चौकी गुमीलाई जानकारी दिएका थिए ।   

सो जानकारीपश्चात् चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए ।

खोजतलासका क्रममा घरदेखि तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको सूचना अधिकारी बुढ्थापाले बताए । 

तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरुबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update