काठमाडौं- मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा गोरखामा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा कुल १५ जना भारतीय नागरिक सवार थिए। दुर्घटनामा ७ जनाको ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ।
घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनामा परेको गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको बताइएको छ। केही शव निकाल्न सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो।
वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजेतिर दुर्घटना भएको हो। ओरालो र अप्ठ्यारो सडकमा गाडी अत्यधिक तातेर ब्रेक फेल भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

