हेटौँडा - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ०६:१० बजेको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि टेलर चालक स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पठाइएको थियो। टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेका चालकलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृत्यु हुने व्यक्ति सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका करिब ३८ वर्षीय गोबिन्द चौधरी रहेको खुलेको छ।
यस्तै, ट्रक चालक चितवनको खैरेनी नगरपालिका–९ बस्ने करिब ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेका छन्। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय नेवारपानीमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटीका अनुसार अविरल वर्षापछि लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

