काठमाडौं - नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा–९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान अघि बढाइएको हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाइसकेको प्रहरी अभिलेखमा उल्लेख छ।
पोखराको पृथ्वीचोकमा महावीर पुनसहितको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

