काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचन परिणाम स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
निर्वाचनपछि जारी सन्देशमा उनले लोकतान्त्रिक निर्वाचनलाई जय–पराजयभन्दा माथि संस्कार र संस्कृतिको विकास गर्ने पद्धति भएको बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीमार्फत जनताको विश्वास जितेको सरकारले मात्रै राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सक्ने उल्लेख गरेका छन्।
कोइरालाले मोरङ–६ बाट अत्यधिक मतका साथ विजयी भएकी रुबिना आचार्य लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै आफ्नो कार्यकालमा क्षेत्रको सेवा, सुधार र समृद्धिका लागि गरिने काममा आफूले साथ र समर्थन रहने बताएका छन्।
उनले निर्वाचनमा आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने प्रशासन तथा सुरक्षा निकायप्रति पनि धन्यवाद दिएका छन्।
कोइरालाले लामो समयदेखि मोरङ–६ का मतदातासँग रहेको आफ्नो सम्बन्ध र प्रेममा पराजयले कुनै असर नपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि क्षेत्र र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

